Banner Nepal
छठ पर्व देशभर मनाइँदै , सूर्य उपासनाको चारदिने धार्मिक अनुष्ठान सुरु

काठमाण्डौ–पहिले मुख्यतः मधेशी समुदायमा सीमित रहँदै आएको छठ पर्व अहिले देशभर समान रूपमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित भएको छ। सत्य, अहिंसा, आरोग्य र समृद्धिको प्रतीक मानिने चारदिने छठ पर्व आज (शनिबार)बाट विधिवत् रूपमा आरम्भ भएको छ।

आज पहिलो दिन व्रतालुहरूले शुद्ध भएर ‘नहा खा’ विधिबाट पर्वको शुरुवात गरे। भोलि दोस्रो दिन खर्ना मनाइनेछ, जहाँ दिनभर उपवास बसेपछि राति बिना नुनको प्रसाद ग्रहण गरी सूर्यदेव र गृहदेवतामा अर्पण गरिन्छ।

तेस्रो दिन व्रतालुहरूले घर–घरमा पकाइएका प्रसाद, केरा, स्याउ, उखुको डाली लगायतका सामग्री लिएर नदी, तलाउ तथा पोखरीका घाटतर्फ पुग्दै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने चलन छ। रातभर जाग्राम बसेपछि चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन गरिन्छ।

छठको तयारीसँगै नदी र पोखरीका किनारमा पूजा गर्ने घाटहरू सजाउन थालिएको छ। कतिपय ठाउँमा केराका थाम, धार्मिक पण्डाल र रङ्गीचङ्गी बत्तीहरूले वातावरणलाई अझ भक्तिमय बनाइएको छ।

पण्डित इन्द्रकान्त झाका अनुसार यो पर्वमा षष्ठी भगवती र सूर्यदेवको आराधना गर्दै परिवार, सन्तान सुख र मनोकामना पूर्तिको कामना गरिन्छ। पहिले तराईमा मात्रै ठूलो रूपमा मनाइने यो पर्व अहिले काठमाडौँसहित पहाडी क्षेत्रमा समेत फैलिएको छ, जहाँ हिन्दू समुदायसँगै मुस्लिम धर्मावलम्बीहरूले पनि भाकल पूरा भएपछि छठ मनाउन थालेका उदाहरणहरू देखिन थालेका छन्।

महोत्तरीको बर्दिवास–१ की तारा देवी ढकालले भाकल पूरा भएपछि पछिल्ला तीन वर्षदेखि छठ मनाइरहेको बताइन्। त्यस्तै गौशालाका मुस्लिम धर्मालम्बी मोहम्मद युसिफ राइनले छोराको स्वास्थ्य लाभको कृतज्ञताका रूपमा लगातार दुई वर्षदेखि छठ आराधना गर्दै आएका छन्।

पौराणिक सन्दर्भ अनुसार, महाभारत कालमा कुन्ती र द्रौपदीले पनि छठ व्रत गरेको वर्णन पाइन्छ। मिथकअनुसार सूर्यदेव जीवन र प्रकृतिको समान रक्षक भएकाले डुब्दो र उदाउँदो दुवै सूर्यको आराधनाले समानता र सहअस्तित्वको सन्देश दिन्छ।

छठमा चोखोपन र अनुशासनलाई अत्यधिक महत्व दिइन्छ। उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, फलफूल, ठेकुवा, कसार लगायत विशेष सामग्री प्रयोग गर्दै व्रतालुहरूले तन, मन र व्यवहार चोखो राख्दै चार दिनसम्पूर्ण श्रद्धासहित आराधना गर्छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update