Banner Nepal
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै ठूलो गिरावट

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्यमा करिब १२ वर्षयताकै ठूलो गिरावट आएको छ। लगातार मूल्य वृद्धि भैरहेको अवस्थामा तिहारको मध्यमा आइपुग्दा सुनको मूल्य एकैदिनमा ६ प्रतिशतभन्दा बढी घटेको द फाइनान्सियल टाइम्स ले जनाएको छ।

सोमबार एक ट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य ४,३८१ अमेरिकी डलरसम्म पुगेको थियो भने मंगलबार ६.३ प्रतिशत घटेर ४,०८२ डलरमा झरेको हो। यो सन् २०१३ अप्रिलपछि आएको सबैभन्दा ठूलो दैनिक गिरावट हो।

धेरै वित्तीय विश्लेषकहरूले यस अवस्थालाई “ढिलो आएको तर आवश्यक सुधार” का रूपमा व्याख्या गरेका छन्। एमकेएस पाम्पकी विश्लेषक निकी शिल्सका अनुसार अत्यधिक खरिदका कारण सुनको मूल्य पाउरोटीझैं फुलेको थियो र अहिले त्यो बुलबुला फुट्न थालेको संकेत देखिएको छ।

गत दुई महिनामै सुनको मूल्यमा करिब २५ प्रतिशत वृद्धि भएको थियो। शिल्सले भनिन्, “छ सातामै एक हजार डलरले मूल्य बढ्नु नै सुन बजारको अस्वाभाविक उकालो देखाउँछ।” मंगलबार चाँदी र प्लेटिनमको मूल्य पनि क्रमशः ७.४ प्रतिशत र ५ प्रतिशतले घटेको छ।

पछिल्लो मूल्य वृद्धिको प्रमुख कारण सरकारी ऋणको वृद्धि, अमेरिकी डलरको कमजोर अवस्था र डोनाल्ड ट्रम्प प्रशासनको व्यापार युद्धका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुन रोज्नु रहेको बताइन्छ। साथै, विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डारण गर्दा पनि बजारमा माग तीव्र बनेको थियो।

सेप्टेम्बर महिनामा मात्र सुनमा आधारित एक्सचेन्ज–ट्रेडेड फन्डहरू (ETF) मा २६ अर्ब डलरभन्दा बढी नयाँ लगानी भएको थियो। जापानदेखि अस्ट्रेलियासम्म खुद्रा ग्राहकहरू पनि सुन किन्ने होडमा देखिएका थिए।

तर हाल अमेरिका–चीन व्यापार सम्बन्धमा सहजता देखिनु र अमेरिकी डलर पुनः सुदृढ हुन थालेका संकेतले बजारमा प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ।

स्ट्यान्डर्ड चार्टर्डकी वरिष्ठ विश्लेषक सुकी कूपरले अहिलेको गिरावटलाई प्राविधिक सुधारका रूपमा व्याख्या गर्दै दीर्घकालमा सुनको मूल्यमा पुनः वृद्धिको सम्भावना रहेको बताइन्। “पछिल्ला दुई महिनामा सुनमा लगानी गर्नेहरूको उत्साह परीक्षणको अवस्थामा पुगेको छ,” उनले भनिन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update