Banner Nepal
प्रधानमन्त्री कार्कीलाई कलाकारहरूको सुझाव : ‘अविचलित रही अघि बढ्नुस्, हामी साथमा छौँ’

प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई देशको हितमा अघि बढ्न सुझाव दिएका छन्। बुधबार बालुवाटारमा भेटघाटका क्रममा समकालीन नेपाली सिनेमाका नौ जना चर्चित कलाकारहरूले प्रधानमन्त्रीलाई भ्रष्टाचारविरुद्धको अभियान र आगामी निर्वाचनलाई लक्ष्य बनाएर दृढतापूर्वक अघि बढ्न आग्रह गरेका हुन्।

‘सरकारसँग हामी कुनै व्यक्तिगत माग लिएर आएका होइनौँ,’ कलाकारहरूले भने, ‘पहिला देश रहोस्, देश बस्नलायक होस्। त्यसका लागि सरकारले दृढतापूर्वक अघि बढोस्, हामी सधैं साथमा छौँ।’

प्रधानमन्त्री कार्कीको निष्कलंक छवि, पूर्वप्रधानन्यायाधीशको रूपमा स्थापित इतिहास र कठिन समयमा नेतृत्व सम्हालेको साहसप्रति कलाकारहरूले कृतज्ञता व्यक्त गरे। अभिनेत्री ऋचा शर्माले भनिन्, “हामीलाई डर लागेको बेलामा आमा आउनुभयो। यहाँको सरल र स्पष्ट शैलीका कारण हामीलाई भरोसा जगाएको छ। अब देश सही दिशामा अघि बढ्नेछ।”

गृहमन्त्री ओमप्रकाश अर्याल र सरकारलाई विवादमा तान्ने प्रयत्न भइरहेको भन्दै कलाकारहरूले सामाजिक सञ्जालमा फैलिएका दुष्प्रचारबारे चिन्ता व्यक्त गरे। उनीहरूले यस्ता प्रोपोगान्डाप्रति सचेत रहँदै सरकारले आफ्नो कामकारबाही पारदर्शी रूपमा सार्वजनिक गर्न सुझाव दिए।

अभिनेता विपिन कार्कीले गृहमन्त्रीको कानुनको शासनप्रतिको अडान र विपद् व्यवस्थापनमा देखाएको सक्रियताको प्रशंसा गर्दै भने, “यी केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति भएको छ। सरकार थप दरिलो होस् भन्ने अपेक्षा छ।”

त्यस्तै, अभिनेता निश्चल बस्नेतले सरकारको मौनताका कारण नकारात्मक तत्वहरू हावी भएको उल्लेख गर्दै सकारात्मकता, राष्ट्रिय एकता र आपसी सहयोगको खाँचो रहेको बताए।

कलाकारहरूले भ्रष्टाचारमा मुछिएका वा व्यक्तिगत स्वार्थ बोकेका दागी पात्रहरूको टिप्पणीलाई बेवास्ता गर्न समेत आग्रह गर्दै प्रधानमन्त्री कार्कीलाई अविचलित रूपमा अघि बढ्न शुभकामना व्यक्त गरे।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update