
बसन्तपुरमा नेपाल संवत् ११४६ को स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विद्रोहपछिको असामान्य अवस्थालाई सामान्यीकरण गरी निर्वाचन सम्पन्न गराउन सरकार दत्तचित्त भएर लागेको स्पष्ट गर्नुभयो।
उहाँले निर्वाचनलाई सरकारको प्रमुख प्राथमिकता बताउँदै पनि सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा सरकार मौन नभएको स्पष्ट पार्नुभयो। उहाँको भनाइमा, “हामी प्रत्येक दिन राजनीतिक दलहरूसँग संवादमा छौँ। परिवर्तनका वाहक जेनजी समुदायसँग पनि निरन्तर सम्पर्कमा छौँ। निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ सुशासनका विषयमा मौन बस्नु होइन।”
प्रधानमन्त्री कार्कीले नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनले उठाएका सुशासनका मुद्दालाई सम्बोधन गर्ने सरकारको दायित्व रहेको बताउँदै सो दिशामा राज्यका संयन्त्रहरू परिणाममुखी रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो।
समाजमा एकता, सद्भाव र सचेत नागरिकको भूमिकामार्फत लोकतन्त्र सुदृढ पार्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो। “आउनुहोस्, सहकार्य गरौँ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ, लोकतन्त्र जीवित राख्दै भ्रष्टाचार नियन्त्रणको राष्ट्रिय अभिभारा पूरा गरौँ,” उहाँले भन्नुभयो।
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचन तथा सुधारका प्रक्रियामा सबै दल र वर्गको साथ र सहयोग रहने विश्वास पनि व्यक्त गर्नुभयो।