Banner Nepal
रास्वपाको बालुवाटार बैठकमा पाँच बुँदे माग: ‘ताजा जनादेश’देखि संविधान संशोधनसम्म

काठमाण्डौ — प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार बालुवाटारमा बोलाएको राजनीतिक दलसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘ताजा जनादेश’ को माग गर्दै पाँच बुँदे धारणा पेश गरेको छ।

रास्वपाका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य सोविता गौतम सहभागी रहेको उक्त बैठकमा पार्टीले निर्वाचन आयोगबाट राजनीतिक दलको छायाँ हटाउनुपर्ने, संविधान संशोधनको कार्यसूची तय गर्न विश्वसनीय उच्चायोग गठन गर्नुपर्ने लगायतका माग अघि सारेको हो।

रास्वपाले जेन–जी आन्दोलनका घटनालाई ‘निर्णायक हस्तक्षेप’ का रूपमा व्याख्या गर्दै एमाले–कांग्रेस नेतृत्वको अघिल्लो सरकार ढलेसँगै प्रतिनिधिसभाको वैधता सकिएको निस्कर्ष निकालेको छ। त्यसका आधारमा रास्वपा ‘ताजा जनादेश’ माग गर्ने पहिलो दल बनेको दाबी गरेको छ।

बैठकमा वाग्ले र गौतमले विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार सुनिश्चित गर्न कूटनीतिक तथा प्राविधिक पहल आवश्यक रहेको उल्लेख गरे। उनीहरूले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारप्रति सद्भाव र समर्थन रहेको भए पनि त्यो निशर्त वा अनन्तकालसम्म नहुने स्पष्ट पारे।

रास्वपाले बालुवाटार बैठकमा प्रस्तुत गरेका प्रमुख पाँच बुँदाहरूमा नयाँ निर्वाचन ६ महिनाभित्र गर्नुपर्ने, सुशासन र आर्थिक सुधारलाई प्राथमिकता दिनुपर्ने, संविधान संशोधनका लागि उच्चायोग गठन गर्नुपर्ने, सर्वदलीय संवादलाई संस्थागत बनाउनुपर्ने, र निष्पक्ष तथा निडर निर्वाचनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षण सुनिश्चित गर्नुपर्ने मागहरू समावेश छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update