Banner Nepal
बक्यौता विवादमा नेपाल विद्युत प्राधिकरणले ६ उद्योगको लाइन काट्यो

काठमाण्डौ — डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् प्रयोग गरी प्रिमियम महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले पुनः ६ ठूला उद्योगको विद्युत् आपूर्ति काटेको छ।

प्राधिकरणका अनुसार लोडसेडिङको समयमा विशेष लाइनमार्फत विद्युत् उपयोग गर्ने तर तोकिएको शुल्क नतिर्ने उद्योगहरूमाथि कारबाही सुरु गरिएको हो। मंगलबार बिहानदेखि जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको विवरणअनुसार जगदम्बा स्टीलले एक अर्ब ६० करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख, घोराही सिमेन्टले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी छ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा यी उद्योगहरूले लोडसेडिङका बेला डेडिकेटेड लाइनमार्फत विद्युत् लिएको तर तोकिएको अतिरिक्त महसुल नबुझाएको प्राधिकरणको आरोप छ।

उद्योगीहरूले भने उक्त शुल्क सम्बन्धी विवाद समाधानका लागि प्राधिकरणसँग पुनः संवाद गर्नुपर्ने र विद्युत् उपयोगको प्रमाण प्रस्तुत गर्न माग गर्दै आएका छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update