Banner Nepal
डोटीमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न प्रशासनको आग्रह

डोटी जिल्ला प्रशासन कार्यालयले तिहारका अवसरमा जिल्लाभर राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न आग्रह गरेको छ। प्रशासनले एक विज्ञप्ति जारी गर्दै चाडपर्वको समयमा सुरक्षाको अवस्था ध्यानमा राखी सांस्कृतिक कार्यक्रम मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न अनुरोध गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “देउसी, भैलो, नाचगानलगायतका सांस्कृतिक कार्यक्रमहरू बेलुकी ९ बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरिन्छ।” साथै, तिहार र छठ पर्व मनाउने क्रममा असोभनीय व्यवहार, हो–हल्ला, भीडभाड र मादक पदार्थ सेवन नगर्न सचेत गराइएको छ।

आतिसबाजी, पटाका, भुईचम्पा जस्ता विष्फोटक तथा प्रज्वलनशील पदार्थको बिक्री–वितरण, ढुवानी र प्रयोगमा पूर्ण रोक लगाइएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासकीय अधिकृत भोजबहादुर ऐडीद्वारा हस्ताक्षरित विज्ञप्तीमा आगलागीका जोखिमलाई ध्यानमा राख्दै दियो, मैनबत्ती र विद्युतीय सजावट प्रयोग गर्दा विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।

त्यस्तै, अत्यावश्यक वस्तुमा कालोबजारी, कृत्रिम अभाव, म्याद नाघेका वा अखाद्य वस्तु बिक्री गर्ने कार्य नगर्न चेतावनी दिइएको छ। प्रशासनले धार्मिक, जातीय वा सामाजिक सद्भाव खलल पुर्‍याउने गतिविधि नगर्न र जुवातास, चिट्ठा, लङ्गुरबुर्जा जस्ता खेल प्रतिबन्धित रहेको पनि स्मरण गराएको छ।

यात्रु सुरक्षाका विषयमा प्रशासनले सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने र तोकिएको भाडा भन्दा बढी नलिने निर्देशन दिएको छ।

सर्वसाधारणलाई स्वतन्त्र र सुरक्षित वातावरणमा तिहार र छठ पर्व मनाउन आग्रह गर्दै प्रशासनले भनेको छ, “कानुन विपरीतका गतिविधि देखिएमा नजिकको सुरक्षा निकायलाई तुरुन्त जानकारी गराउन अनुरोध छ, अन्यथा कानुनअनुसार कारबाही गरिनेछ।”

 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update