
नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले आफू सरकारबाट नडराउने र भागेको आरोप अस्वीकार गरेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले आफू विदेश भागेको दाबी गरेकै भोलिपल्ट, मंगलबार आफ्नै जलेको निवास परिसरमा पत्रकार सम्मेलन गर्दै खड्काले भने, “सरकारले मलाई वारेन्ट काटेको छ र? बाहिर जान रोक लगाएको छ र? त्यसो भए भागे भनिन्छ। झिनामसिना कुराले मलाई छुँदैन, म डराउँदिन।”
उनले जेनजी आन्दोलनका क्रममा २४ भदौमा घरमै रहेको स्पष्ट पारे। खड्काका अनुसार सो दिन आन्दोलकारीहरूले ढोका हान्न थालेपछि आफू र परिवारलाई सेनाले सुरक्षित स्थानमा पुर्याएको थियो। “२४ गते म घरमै थिएँ, खाना खाँदै थिएँ। ढोका ढ्याङ–ढ्याङ गरेपछि खान पनि पाइनँ। अंगरक्षकहरूले बाहिर निकाल्नुभयो,” उनले भने।
आगो लगाइएपछि आफू छिमेकीकोमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा आश्रय लिएको खड्काले बताए। त्यसपछि केही दिन तराईमा बसेर उपचारका लागि भारत गएको उनले स्पष्ट पारे। “म बिरामी भएर भारत गएँ, डेङ्गु भएको थियो। त्यहाँ केही मन्त्रीहरूसँग भेट भयो,” उनले भने।
परिवारका सदस्यहरू समेत बिरामी रहेको बताउँदै खड्काले अहिलेको सरकारले लिएको जिम्मेवारीको सम्मान गर्नुपर्ने टिप्पणी गरे। “अहिले सरकारले निर्वाचन घोषणा गरेको छ, मुलुक सम्हाल्ने जिम्मा लिएको छ। यसबारे म टिकाटिप्पणी गर्न चाहन्नँ,” उनले भने, “यो परिस्थिति सिर्जित सरकार हो, जिम्मेवारी राजनीतिक दल र नागरिकले लिनुपर्छ।”