Banner Nepal
विपिन जोशीको शव दिउँसो २ः३० बजे काठमाडौँ आइपुग्दै

प्रधानमन्त्री सुशीला कार्की इजरायलमा निधन भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय गरिएको छ।

इजरायलमा हमासद्वारा बन्धक बनाइएका जोशीको पार्थिव शरीर फ्लाइ दुबईमार्फत दिउँसो करिब २ः३० बजे काठमाडौँ आइपुग्नेछ। विमानस्थलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री कार्कीको उपस्थितिसहित उनको पार्थिव शरीर परिवारका सदस्यलाई अन्त्येष्टिका लागि हस्तान्तरण गरिनेछ।

यसअघि आइतबार इजरायलको बेन गुरियन विमानस्थलमा इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारी, स्थानीय किबुज एलुमिम समुदाय र त्यहाँ रहेका नेपाली समुदायले जोशीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आकस्मिक आक्रमणका क्रममा २३ वर्षीय जोशी इजरायलको किबुज एलुमिमबाट बन्धक बनाइएका थिए। कृषि अध्ययनका लागि मसाभ कार्यक्रमअन्तर्गत एक महिना अघि मात्र इजरायल पुगेका उनी अन्य १० नेपाली विद्यार्थीहरूसँगै आक्रमणको शिकार बनेका थिए। त्यस क्रममा १० जनाको मृत्यु भएको थियो भने छ जना घाइतेको उपचारपछि नेपाल फर्किएका थिए।

हमासद्वारा दुई वर्षसम्म बन्धक बनाइएका जोशीको मृत्युको पुष्टि युद्धविरामपछि बन्धकहरूको शव इजरायललाई हस्तान्तरण गर्दा भएको हो। नेपाल सरकारले उनको सकुशल रिहाइका लागि निरन्तर अन्तर्राष्ट्रिय तहमा पहल गरेको थियो।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update