Banner Nepal
गृहमन्त्री अर्यालद्वारा केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गर्नुभएको छ। बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा उनका प्रतिनिधिहरू सहभागी हुनेछन्।

गृह मन्त्रालयका अनुसार बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्नेछ। साथै आवश्यक पृष्ठपोषण र नीतिगत निर्देशनसमेत प्रदान गर्ने तयारी गरिएको छ।

उक्त समिति गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा गठन गरिएको हो। गृहमन्त्री अर्यालले कार्यभार सम्हालेपछि समितिको गठन गरेका हुन्। समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्यका रूपमा रहेका छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य–सचिव छन्।

समितिले तयार पारेको सुरक्षा योजना प्रत्येक जिल्लामा पठाइनेछ, जसको कार्यान्वयन जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले गर्नेछ। यस समितिको नेतृत्व प्रमुख जिल्ला अधिकारी (सीडिओ) ले गर्नेछन्।

सरकारले आसन्न निर्वाचनलाई मुख्य राष्ट्रिय प्राथमिकताका रूपमा राख्दै सुरक्षा रणनीति निर्माणलाई तीव्रता दिएको जनाएको छ। सम्पूर्ण सरकारी संयन्त्र अहिले निर्वाचन तयारी र सुरक्षामा केन्द्रित गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update