
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने तयारी सन्तोषजनक गतिमा अघि बढिरहेको बताउनु भएको छ। शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उहाँले तयारीलाई अझ द्रुत गतिमा अघि बढाइँदै गएको उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गर्नुभएको छ।
उहाँले लेख्नुभएको छ, “तयारी अझै द्रुततर गतिमा अघि बढाइँदै छ। सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ।”
यसअघि प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री ओमप्रकाश अर्याल तथा अन्य मन्त्रीहरूको उपस्थितिमा चारै सुरक्षा निकायका प्रमुखसँग शीतल निवासमा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे गम्भीर छलफल गर्नुभएको थियो।
प्रधानमन्त्रीका अनुसार छलफलमा आगामी निर्वाचनका लागि सुरक्षा व्यवस्थापन, राजनीतिक सहकार्य र जनविश्वास अभिवृद्धिका उपायहरूबारे समीक्षा गरिएको थियो। उहाँले सबै सुरक्षा निकायका प्रमुखले उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न तयार रहेको जानकारी गराएको बताउनुभयो।
प्रधानमन्त्री कार्कीले राजनीतिक तहबाटै चुनावको वातावरण निर्माणका लागि पहल भइरहेको र राजनीतिक दलहरूसँग संवाद प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिनुभएको छ।