
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ। यस अवसरमा बिहानैदेखि मानिसहरूले यमराजका दूतका रूपमा मानिने कागलाई पूजा–आराधना गर्दै मीठा खानेकुरा खुवाइरहेका छन्। कागले यमराजसमक्ष शुभसन्देश पुर्याओस् भन्ने विश्वासका साथ दहीभात लगायतका परिकार अर्पण गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, शास्त्रसम्मत गणनाअनुसार यस वर्ष आइतबार बिहान सूर्योदयकालमा त्रयोदशी पर्ने भएकाले आजको दिन काग तिहार मनाउन उचित ठहर गरिएको हो।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना भइरहेको छ। त्यस्तै हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरी ठूलो मूर्तिमा अर्पण गर्ने परम्परा रहेको छ।
शनिबार बेलुकादेखि यमपञ्चक सुरु भइसकेको छ। परिवारका सबै सदस्यका नाममा यमयातनाबाट मुक्ति पाउने विश्वासका साथ शनिबार साँझदेखि नै यम दीपदानको विधि सुरु गरिएको हो। वैदिक परम्परा अनुसार दीप दक्षिणमुखी राखी दान गर्नुपर्छ भन्ने मान्यता छ।
यसैगरी, लक्ष्मी स्थिर रहोस् भन्ने धार्मिक विश्वाससहित शनिबार धनतेरस पर्व पनि मनाइएको थियो। यस दिन गरगहना तथा तामाका भाँडाकुँडा किन्ने चलन रहेको छ, जसले घरमा समृद्धि र लक्ष्मीको स्थायित्व ल्याउने विश्वास गरिन्छ।