Banner Nepal
रुकुमपूर्वको रानिकोट–किटनी सडक १९ दिनका लागि बन्द

रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने प्रमुख सडक आगामी तीन साता बन्द हुने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने रानिकोट–किटनी सडकखण्डमा बाँकी रहेको निर्माण कार्य १९ दिनभित्र सम्पन्न गर्न सवारीसाधन आवागमनमा अस्थायी रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले बाँकी काम शीघ्र पूरा गर्न सडक बन्दको प्रस्ताव अघि सारेका थिए, जसका आधारमा प्रशासनले यो निर्णय गरेको हो ।

सडक बन्द अवधिमा यात्रु र चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । ठूला सवारीसाधनका लागि कैचिमोड–धाउन्ने–पोखरा–छिन्खेत मार्ग र साना सवारीका लागि कैचिमोड–धाउन्ने–नाथिगाड–धपे मार्ग प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासनका अनुसार निर्माण कार्य समयमै सकिएपछि सडक पुनः सञ्चालनमा ल्याइनेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update