
ओमानको उच्च अदालतले साइबर ठगी अपराधमा संलग्न आरोपमा एक महिलासहित २० जना नेपालीलाई देश निकाला गर्ने आदेश दिएको छ । तीमध्ये ११ जनालाई बिहीबार नेपाल पठाइसकिएको र बाँकी ७ जनालाई सोमबारसम्म पठाउने तयारी भइरहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । बाँकी दुई जनाको उडान भने अझै तय हुन बाँकी रहेको दूतावासको भनाइ छ ।
दूतावासका अनुसार ती नेपालीहरू दुबई भिजिट भिसामा गएर त्यहाँबाट एक चाइनीज कम्पनीमार्फत रोजगारको आशामा ओमान पुगेका थिए । गत फेब्रुअरीमा ओमान पुगेका उनीहरूलाई सो कम्पनीले अनलाइन लगानी, नक्कली बैंक वेबसाइट र सामाजिक सञ्जालमार्फत ठगी कार्यमा संलग्न गराएको खुलेको छ ।
सुराकीका आधारमा रोयल ओमान प्रहरीले अन्तर्राष्ट्रिय निकायसँगको सहकार्यमा अनुसन्धान अघि बढाउँदै गत मार्च १० मा सोहार शहरबाट २० जना नेपालीसहित कुल २५७ जनालाई पक्राउ गरेको थियो ।
अदालतले पक्राउ परेकामध्ये दुई जनालाई ६ महिना कैद र ६ सय ओमानी रियाल जरिवाना तोकेको छ भने बाँकीलाई ६ महिना कैद र ३ सय ओमानी रियाल जरिवानाको सजाय सुनाएको छ । प्रहरीका अनुसार कम्पनीले ती व्यक्तिहरूको पासपोर्ट र कागजात नियन्त्रणमा राखी “अनलाइन ग्राहक सेवा” वा “लगानी परामर्शदाता”को नाममा ठगीका गतिविधि सञ्चालन गराएको थियो ।
एनआरएनए ओमानका नेपाली सोसल क्लबका अध्यक्ष सुरेश खड्काका अनुसार परिवारहरूले सम्पर्क नहुँदा सहयोग मागेपछि खोजतलास सुरु भएको थियो । खोजक्रममा ती सबै सोहार जेलमा रहेका पत्ता लागेको र मस्कटस्थित नेपाली दूतावास तथा एनआरएनएका प्रतिनिधि देवन खड्काको पहलमा स्वदेश फिर्ती प्रक्रिया सहज भएको बताइएको छ ।
ओमानस्थित नेपाली दूतावासका अनुसार यो हालसम्मकै ठूलो संख्यामा एकैपटक नेपालीहरू डिपोर्ट भएको घटना हो । दूतावासका अनुसार हाल ओमानमा करिब २५ हजार नेपाली कार्यरत छन् । ओमानमा ठूला निर्माण परियोजना सञ्चालन भइरहेकाले श्रमिकको माग बढेको छ भने, बंगलादेश र पाकिस्तानका नागरिकमाथि भिसा प्रतिबन्ध लागेपछि नेपाली कामदारको संख्या थप वृद्धि भएको राजदूत डोरनाथ अर्यालले जानकारी दिनुभयो ।