Banner Nepal
तिहार नजिकिँदै, सयपत्रीको माग चुलियो

तिहार नजिकिएसँगै सयपत्री फूलको माग तीव्र रूपमा बढ्दै गएको छ । व्यावसायिक उत्पादन सीमित भएकाले माग आपूर्तिभन्दा धेरै बढेको देखिन्छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका निवासी व्यवसायी नारायण घिमिरे अहिले सयपत्री फूल बिक्रीमा अत्यन्त व्यस्त छन् । हेटौँडा उपमहानगरपालिकासहित बकैया, बागमती र ललितपुरसम्मबाट माग बढेपछि उहाँलाई आपूर्ति गर्न भ्याइनभ्याई भएको हो ।

तरकारी खेतीसँगै गत वर्षदेखि फूल उत्पादनमा लाग्नुभएका घिमिरेले मखमली र सयपत्री दुवै फूल व्यावसायिक रूपमा खेती गर्दै आउनुभएको छ । करिब तीन कठ्ठा क्षेत्रफलमा ‘टेनिस बल’ प्रजातिको सयपत्री फूल लगाउनुभएका घिमिरेले चितवनबाट २५ सय बिरुवा ल्याएर खेती सुरु गर्नुभएको थियो ।

हाल उहाँले प्रतिमाला एक सयदेखि एक सय २० रुपियाँसम्म र प्रतिकेजी पाँच सय रुपियाँ दरले फूल बिक्री गर्दै आउनुभएको छ । “अहिले बजारको समस्या छैन, माग दिनहुँ बढ्दैछ, धेरैजसो फूल त बारीमै आएर लैजाने गर्छन्,” घिमिरेले बताउनुभयो ।

तिहारपूर्वका सामाजिक तथा धार्मिक कार्यक्रमका लागि पनि फूलको माग उच्च रहेको छ । बकैया–३ र ४ लगायतका क्षेत्रमा मात्रै उहाँले हालसम्म दस हजार रुपियाँभन्दा बढीको फूल बिक्री गरिसक्नुभएको छ । तिहार सुरु हुनुभन्दा एकादशीसम्म निरन्तर बिक्री हुने र यस वर्ष करिब डेढ लाख रुपियाँ आम्दानी हुने अनुमान घिमिरेले गर्नुभएको छ ।

स्थानीय तहहरूले बाहिरबाट ल्याइने कृत्रिम फूल र प्लास्टिकका माला प्रतिबन्ध गरेपछि मकवानपुर, हेटौँडा र मनहरी क्षेत्रमा उत्पादन भएका स्थानीय फूलले बजार पाएको किसानहरूको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update