
अत्यन्त न्यून तलब र सुविधाका विरोधमा देशभर आन्दोलनरत नर्सहरूको माग सम्बोधनका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सरोकारवाला निकायहरूसँग विस्तृत छलफल गरेको छ ।
मन्त्रालयमा सम्पन्न छलफलमा आन्दोलनरत नर्सका प्रतिनिधिहरू, नेपाल नर्सिङ संघ, निजी मेडिकल तथा डेन्टल कलेज संघ, जेनजी समूह र चिकित्सा शिक्षा आयोगका प्रतिनिधिहरू सहभागी थिए । सो छलफलमा आइतबार (कात्तिक २ गते) सर्वपक्षीय बैठक बस्ने निर्णय गरिएको स्वास्थ्य सचिव डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सरकार नर्सहरूको मागप्रति सकारात्मक रहेको छ र छलफल सकारात्मक दिशातर्फ अघि बढेको छ ।
नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्सिङ पेशामा रहेको असमानता र आन्दोलनरत नर्सहरूले उठाएका मागबारे गम्भीर छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको बताउनुभयो । उहाँले मङ्सिर २७ गतेको मन्त्रालयस्तरीय निर्णय कार्यान्वयन नभएको उल्लेख गर्दै निर्णायक आन्दोलनमा जान सक्ने चेतावनी दिनुभयो ।
नर्सहरूले सरकारी सरह सेवा–सुविधा माग गर्दै हाल पोखरास्थित मणिपाल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र धनगढीका नर्सहरू आन्दोलनरत छन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार स्वास्थ्य सचिवलाई तत्काल नर्स आन्दोलनको मागबारे छलफल गरी समाधान गर्न निर्देशन दिनुभएको थियो । सो निर्देशनअनुसार शुक्रबार बेलुका पहिलो चरणको बैठक सम्पन्न भएको हो ।
सर्वपक्षीय बैठकमा नर्सिङ संघकी अध्यक्ष शर्मा, मणिपाल मेडिकल कलेजका सञ्चालक शान्तराज बतास, जेनजी अगुवा सुदन गुरुङ, मेडिकल व्यवसायी दुर्गा प्रसाई, स्वतन्त्र नर्स समूहकी ज्योति रानाभाट र सागर खतिवडासहितका सरोकारवाला सहभागी थिए । बैठकमा विभिन्न पक्षले नर्सहरूको समस्या समाधानका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।