
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएर उठेको युवाहरूको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा लिएका छन् । उनले यो आन्दोलनले माओवादीले विगतदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियानलाई पुनः जीवन्त बनाएको बताएका छन् ।
चितवनमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै प्रचण्डले जेनजी आन्दोलन, सरकारको भूमिका, राजनीतिक दलहरूको जिम्मेवारी, आगामी निर्वाचन र वाम एकताको सम्भावनासहितका विषयमा आफ्नो धारणा स्पष्ट गरे ।
उनले भने, “युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । भ्रष्टाचारविरोधी स्वर अहिलेको जेनेरेसन जेडमार्फत पुनः प्रतिध्वनित हुनु गौरवको कुरा हो।”
गत भदौ २३ गतेको आन्दोलनमा देखिएको गम्भीर सुरक्षा लापरवाहीका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मेवार ठहर गर्दै प्रचण्डले गोली प्रहारका घटना अन्तर्राष्ट्रिय स्तरमै नेपालका लागि लज्जास्पद भएको बताए ।
उनका अनुसार, आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, छानबिन समिति गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्ने पहिलो निर्णय माओवादी केन्द्रले गरेको थियो । उनले प्रतिपक्षी दलहरूसँग सहकार्य गरेर देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउन पहल गरिएको पनि स्पष्ट गरे ।
२४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठकपछि सुरक्षाको जोखिम बढेपछि आफू सेनाको समन्वयमा सुरक्षित स्थानमा गएकाे खुलासा गर्दै उनले भने, “हामीलाई कसैले लिएको होइन, परिस्थितिले त्यस्तो निर्णय लिन बाध्य बनायो।”
देशको वर्तमान अवस्थाले अब निर्वाचनबाहेक अर्को विकल्प नदेखिएको भन्दै प्रचण्डले सबै राजनीतिक दलहरू निर्वाचनमा जान तयार भइरहेको बताए । “राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय समुदायसम्मको धारणा एउटै छ — समाधान अब निर्वाचनमै छ,” उनले भने ।
एमालेभित्र समेत अधिकांश नेता चुनावका पक्षमा रहेको उल्लेख गर्दै प्रचण्डले संसद पुनःस्थापनाको एजेन्डा अब गौण बनेको बताए ।
वाम एकताको सन्दर्भमा उनले लामो छलफलपछि माओवादी केन्द्र र अन्य वाम दलबीच सहमतिको अन्तिम चरणमा पुगिएको जानकारी दिए । विश्लेषकहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अग्रस्थानमा आउन सक्ने आँकलन गरिरहेका दाबी गर्दै उनले पार्टी कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिए ।
उनले अन्त्यमा भने, “माओवादी केन्द्र फेरि जनताको विश्वास जित्नेछ, हामी सबै एक भएर जनताको पक्षमा चुनावमा जानुपर्छ।”