Banner Nepal
भागेका १२२ कैदी काठमाडौँबाट पक्राउ

गत भदौ २४ गते जेनजी प्रदर्शनको अव्यवस्थाको मौका छोपेर विभिन्न कारागारबाट फरार भएका एक सय २२ कैदीबन्दीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौ, उपत्यका अपराध अनुसन्धान कार्यालय र मातहतका इकाइहरूको संयुक्त टोलीले फरार कैदीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये ३५ जना चोरी, १७ जना जबर्जस्ती करणी, ३० जना लागुऔषध, १२ जना ज्यान मार्ने उद्योग, तीन–तीन जना बहुविवाह, बैंकिङ कसुर, सङ्गठित अपराध, डाँकाचोरी र सवारी ज्यान मुद्दामा संलग्न रहेका छन् । त्यस्तै, ज्यानसम्बन्धी कसुरमा ६ र मानव बेचबिखनमा एक जना रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

उनका अनुसार पक्राउ परेकामध्ये एक सय १२ जना पुरुष र १० जना महिला छन् । प्रहरीले अझै पनि फरार कैदीहरूको खोजी अभियान जारी राखेको जनाएको छ ।

प्रहरीले स्थानीयवासीलाई पनि सर्तक रहन र आफ्ना छरछिमेकमा पहिचान नखुलेका वा शंकास्पद व्यक्तिहरू देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा हटलाइन १०० मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update