Banner Nepal
जसपा सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ, सांसद विकास कोषको रकम दुरुपयोगको आरोप

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पुनः पक्राउ परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

अख्तियारका अनुसार कुशवाहाले सांसद विकास कोषमार्फत प्राप्त रकममध्ये करिब ३७ प्रतिशत रकम कमिसनको नाममा आफ्नै खातामा सारेको प्रमाण फेला परेको छ । पूर्वगृहराज्यमन्त्री समेत रहेका उनी यसअघि पनि सोही मुद्दामा पक्राउ परेपछि तारेखमा रिहा भएका थिए ।

अख्तियार स्रोतका अनुसार यसपटक उनलाई विशेष अदालतमा मुद्दा दर्ता गर्नका लागि पुनः पक्राउ गरिएको हो ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेशसभामा निर्वाचित कुशवाहाको घरमा अख्तियारले गत १२ जेठमा छापा मारेको थियो । सो क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पनि पक्राउ परेका थिए ।

छापामारीका क्रममा अनुसन्धान टोलीले विभिन्न योजना सम्बन्धी कागजात, मोबाइल फोन लगायतका सामग्री बरामद गरी डिजिटल फरेन्सिक परीक्षणका लागि पठाएको थियो । उनी यसअघि २० जेठमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update