Banner Nepal
अमेरिकाद्वारा चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ, ट्रम्पको घोषणा

काठमाण्डौ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सबै सामानमा शतप्रतिशत अतिरिक्त आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गर्दै उक्त निर्णय नोभेम्बर १ तारिखदेखि लागू हुने जानकारी दिएका हुन्।

ट्रम्पका अनुसार यो कदम चीनमाथि आर्थिक दबाब सिर्जना गर्न तथा अमेरिकाको औद्योगिक प्रतिस्पर्धा सुदृढ गर्न उद्देश्य गरिएको हो। उनले यससँगै अत्यावश्यक सफ्टवेयर तथा प्रविधि निर्यातमा पनि नियन्त्रण गर्ने तयारी भएको बताएका छन्।

यो निर्णय चीनले दुर्लभ खनिज ‘रेयर अर्थ मेटल्स’ को निर्यातमा कडाइ गरेपछि आएको प्रतिक्रिया हो। गत साता चीनले ती खनिजको निर्यातमा प्रतिबन्धात्मक नीति अवलम्बन गरेपछि ट्रम्पले चीनको “शत्रुतापूर्ण व्यवहार” भन्दै तीव्र आलोचना गरेका थिए।

रेयर अर्थ मिनरल्स विश्वका अत्यावश्यक १७ प्रकारका धातुहरूको समूह हो, जसको प्रयोग सोलार प्यानल, स्मार्टफोनदेखि इलेक्ट्रिक सवारीसम्ममा हुन्छ। विश्वमा ती तत्वहरूको करिब ९० प्रतिशत प्रशोधन चीनमा हुने भएकाले चीनको निर्यात नीति परिवर्तनले विश्व बजारमा ठूलो प्रभाव पार्ने आकलन गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update