
काठमाण्डौ — गत साताको बाढीले क्षति पुर्याएको बिपी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली खण्डका १९ स्थानमा अस्थायी ‘डाइभर्सन’ बनाएर राजमार्ग खुलाइएको हो।
शुक्रबार साँझसम्म सबै क्षतिग्रस्त खण्डमा ट्रयाक खोलिसकेपछि परीक्षण गरी शनिबार बिहानदेखि सवारीसाधन सञ्चालन सुरु गरिएको कार्यालयले जनाएको छ। राति नै कामलाई निरन्तरता दिइएकाले राजमार्ग समयमै खुलाउन सफल भएको हो।
सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्लेका चार स्थान र माम्तीका दुई स्थानसहित १९ ठाउँमा डाइभर्सन निर्माण सम्पन्न गरिएको छ।
काभ्रेपलाञ्चोक क्षेत्रमा १६ र सिन्धुली क्षेत्रमा तीन स्थानमा डाइभर्सन तयार गरिएको कार्यालयले जनाएको छ। रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेपछि मङ्गलबारदेखि अस्थायी सडक निर्माण सुरु गरिएको थियो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्दै रातदिन काम गरी राजमार्ग चाँडो सुचारु गर्न निर्देशन दिएका थिए। उनको निर्देशनअनुसार बिहीबारदेखि दुई दर्जन मेसिनमार्फत निरन्तर काम गरेर शुक्रबार साँझसम्म ट्रयाक खोलिएको हो।
पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा बिपी राजमार्ग अत्यन्तै महत्त्वपूर्ण रहेको छ, जसबाट दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गर्छन्। डिभिजन सडक कार्यालयले स्थायी पुनर्निर्माणका लागि राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्का प्रक्रियामा अघि बढाइरहेको जानकारी दिएको छ।