Banner Nepal
एमाले सचिवालय बैठक आज निष्कर्षतर्फ, महाधिवेशन मिति टुंग्याउने तयारी

काठमाण्डौ — नेकपा एमालेको सचिवालय बैठक आज सकिँदै छ। शुक्रबारदेखि सुरु भएको बैठकले पार्टीभित्र उत्पन्न तीनखाले बहस — अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व निरन्तरता, पुस्तान्तरण वा नयाँ नेतृत्व चयन — मध्ये कुन मार्ग लिनेदेखि महाधिवेशन मिति तोक्नेसम्मका विषयमा निर्णय गर्ने तयारी गरेको छ।

जेन–जी आन्दोलनपछि बदलिँदो राजनीतिक परिस्थितिमा एमालेभित्र संसद पुनःस्थापनाको एजेन्डा अघि सार्ने कि आगामी निर्वाचनको तयारीमा लाग्ने भन्ने विषयमा पनि नेताहरूबीच मतभिन्नता देखिएको छ।

संस्थापन पक्षले छिट्टै महाधिवेशन बोलाउने तयारी गरेको छ। शनिबार बस्ने बैठकमा नै महाधिवेशन मिति प्रस्ताव हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्। गुन्डुमा शुक्रबार बसेको बैठकमा पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग बलियो रूपमा उठेको थियो।

शुक्रबारको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। शाक्य र ज्ञवालीले त लिखित रूपमा ओलीको राजीनामा मागसमेत गरेका छन्। विपरीत पक्षमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली ओलीको पक्षमा उभिएका छन्।

आजको बैठकमा बाँकी पदाधिकारीहरूले धारणा राखेपछि अध्यक्ष ओलीले जवाफ दिने र त्यसपछि संस्थागत निर्णय आउने सचिव पद्मा अर्यालले जनाएकी छन्।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले गम्भीर राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै पार्टीको आगामी दिशा तय गर्नेछ। विधान महाधिवेशन सम्पन्न भइसकेकाले अब ११औं महाधिवेशन जतिसक्दो चाँडो गर्नुपर्ने विषयमा नेताहरू एकमत छन्।

एमाले स्रोतका अनुसार महाधिवेशन मंसिरदेखि फागुनभित्र सम्पन्न हुने सम्भावना छ। फागुन २१ मा निर्वाचन हुने भनिएकाले मंसिर वा पुसभित्र नै महाधिवेशन गर्न सकिने नेताहरूको धारणा छ।

यसबीच, बैठकमा पूर्व उपाध्यक्ष एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको पक्ष पनि सशक्त रूपमा उठेको छ। उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ सहितका नेताहरू विद्यालाई स्वीकार्नुपर्ने मतमा उभिएका छन्, जसले पार्टीभित्र पुनःएकताको सन्देश जाने तर्क गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update