
काठमाण्डौ — डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भिमदत्त राजमार्गमा शनिबार बिहान इभि हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु र १८ जना घाइते भएका छन्। दुर्घटना बिहान करिब ५ः३५ बजे भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३९५६ नम्बरको इभि हाइस अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम छ। प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको नेतृत्वमा गएको टोली र स्थानीय बासिन्दाले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि कैलालीको अत्तरियास्थित पद्मा अस्पताल पठाइएको छ।
गम्भीर घाइते हुनेहरूमा अछाम मङ्गलसेनका लोकेन्द्र रावल, एकेन्द्र विक, मोतिकला परियार, बिराज परियार, भिमबहादुर ढोली, सृष्टी परियार, बिनोद परियार र मनसरी परियार रहेका छन्।
अन्य घाइतेहरूमा चालक देब बहादुर थापा, मेघ्या ढोली, आहाना परियार, एलिसा परियार, पद्मा परियार, रिया परियार, रबी परियार, नृप ढोली, देवराज भाट र इन्द्रसरा परियार रहेका छन्। मृतक र अधिकांश घाइतेहरू अछाम मङ्गलसेन नगरपालिका–९ का स्थानीय हुन्।