
सत्तारूढ गठबन्धनका कनिष्ठ साझेदार कोमेइतो पार्टीले गठबन्धन छोडेपछि जापानमा राजनीतिक अनिश्चितता गहिरिँदै गएको छ। यससँगै देशकी सम्भावित पहिलो महिला प्रधानमन्त्री साने तकाइचीको राजनीतिक यात्रा ठूलो संकटमा परेको छ।
लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व एक हप्ताअघि मात्रै सम्हालेकी तकाइची यस महिनामै संसदबाट प्रधानमन्त्रीका रूपमा अनुमोदित हुने अपेक्षा गरिएको थियो। तर, एलडिपी–कोमेइतो गठबन्धनको २५ वर्ष लामो साझेदारी टुटेसँगै जापान राजनीतिक अनिश्चितताको नयाँ चरणमा प्रवेश गरेको छ।
कोमेइतो पार्टीका प्रमुख तेत्सुओ साइटोले एलडिपीले आफूहरूको मागमा स्पष्ट सहयोग नगरेको भन्दै गठबन्धन अन्त्य गर्ने घोषणा गरेका छन्। उनले भने, “यदि आवश्यक सुधार सम्भव भएन भने तकाइचीलाई प्रधानमन्त्रीका रूपमा समर्थन गर्नु असम्भव हुनेछ।”
मिडिया रिपोर्टका अनुसार कोमेइतो तकाइचीको पार्टीभित्रको हालैको ‘स्लस फन्ड स्क्यान्डल’ प्रति असन्तुष्ट थियो। यद्यपि पार्टीले बजेट योजना र अन्य कानुनमा सहकार्य जारी रहने जनाएको छ।
तकाइचीले गत वर्षका प्रधानमन्त्री सिगेरु इसिबालाई प्रतिस्थापन गर्दै नेतृत्व सम्हालेकी हुन्। तर मुद्रास्फीति, वित्तीय घोटाला र पार्टीको आन्तरिक असन्तुष्टिले एलडिपीको जनसमर्थन घट्दै गएको छ। साथै, तकाइचीको रूढीवादी विचार र युद्ध अपराधीलाई सम्मान गर्ने यासुकुनी मन्दिर भ्रमणजस्ता गतिविधिले पनि गठबन्धनमा असहजता बढाएको बताइएको छ।
६४ वर्षीया तकाइचीले नेतृत्व जितेपछि “नयाँ युगको सुरुआत” भएको बताएकी थिइन्। उनले युवा र लोकप्रिय राजनीतिज्ञ सिन्जिरो कोइजुमीलाई पराजित गरेकी थिइन्, जो पुस्ता परिवर्तनको प्रतीक मानिन्थे।
तर, आप्रवासन विरोधी दलहरूजस्ता साना पार्टीको समर्थन बढ्दै जाँदा एलडिपीको लोकप्रियता झन् कमजोर बन्दै गएको छ। यदि तकाइची प्रधानमन्त्री बन्न सफल भइन् भने उनलाई वृद्ध जनसंख्या, कमजोर अर्थतन्त्र र भूराजनीतिक तनावजस्ता चुनौतीको सामना गर्नुपर्नेछ। प्रधानमन्त्रीका रूपमा उनको पहिलो औपचारिक कार्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागत हुनेछ, जसको जापान भ्रमण अक्टोबरको अन्त्यतिर तय भएको छ।