Banner Nepal
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, इलाम विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

नेपाल सरकारले असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार पत्रकार सम्मेलनमार्फत ती निर्णय सार्वजनिक गर्नुभएको हो।

बैठकले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक संरचनाको क्षति पुनःनिर्माण र मर्मतका लागि आवश्यक बजेट रकमान्तर गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ। साथै, प्रभावित व्यक्तिहरूको राहत, आर्थिक पुनःउत्थान र सार्वजनिक सेवा सुचारु गर्न आवश्यक रकम चालु आर्थिक वर्षकै कार्यक्रमभित्र समायोजन गर्न सकिने आदेश जारी गर्ने निर्णय पनि भएको छ।

त्यस्तै, इलाम जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय बैठकले गरेको छ। हालैको अविरल वर्षा र पहिरोका कारण इलाममा व्यापक जनधनको क्षति भएको थियो।

यसैगरी, नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू — सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विश्वकर्मालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरी क्रमशः अपराध अनुसन्धान, कार्य, प्रशासन र प्रदेश समन्वय विभागमा जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update