
गाजाको दुई वर्ष लामो रक्तपातपूर्ण द्वन्द्व अन्त्यतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘पहिलो चरण’ सम्झौताले विश्व राजनीतिमा नयाँ आशा जगाएको छ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत भने, “यस सम्झौताले सबै बन्धकहरूलाई घर फर्काउने छ र इजरायलले दीर्घकालीन शान्तितर्फ पहिलो कदमका रूपमा सेना फिर्ता लिने छ।” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि प्रतिक्रिया दिँदै लेखे, “भगवानको कृपाले हामी सबै आफ्ना प्रियजनहरूलाई घर ल्याउनेछौँ।”
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो सम्झौतालाई “मानवीय राहत, पुनर्निर्माण र दुई–राज्य समाधानतर्फको निर्णायक अवसर” भन्दै समर्थन जनाए। उनले कब्जाको अन्त्य र प्यालेस्टिनी जनताको आत्मनिर्णय अधिकार सुनिश्चित गर्न विश्व समुदायलाई सहकार्यको आग्रह गरे।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले “बन्धकहरूको पुनर्मिलनले स्थायी शान्तिको सम्भावना देखाएको” भन्दै कतार, इजिप्ट र टर्कीको मध्यस्थता प्रयासको प्रशंसा गरे।
त्यस्तै, अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले ट्रम्पको नोबेल शान्ति पुरस्कारका लागि समर्थन घोषणा गर्दै यो सम्झौताले विश्व शान्तिको दिशामा ठूलो योगदान पुर्याएको टिप्पणी गरे।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले “महिनौँको पीडापछि आशाको उज्यालो देखिएको” भन्दै सबै पक्षलाई दीर्घकालीन समाधानतर्फ अघि बढ्न आह्वान गरे।
जापानका मुख्य क्याबिनेट सचिव योसिमासा हयासीले सम्झौतामा सहमति भएकोमा स्वागत जनाउँदै गाजाको पुनर्निर्माणमा जापानको निरन्तर सहयोगको वाचा गरे।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले यस सम्झौतालाई “मानवताको पुनर्जीवनको सन्देश” भने भने, न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले यसलाई “पीडाको अन्त्यतर्फको पहिलो सकारात्मक कदम” का रूपमा मूल्याङ्कन गरे।