Banner Nepal
एमआरआई मेसिन खरिद प्रकरणमा पूर्व उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको एमआरआई मेसिन खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारीसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, उनीहरूविरुद्ध कम गुणस्तरको एमआरआई मेसिन खरिदमा १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोप लगाइएको छ।

मुद्दामा भण्डारीसँगै तत्कालीन कार्यवाहक रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शदर भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरीलगायतमाथि कैद सजाय र विगो जरिवानाको मागदाबी गरिएको छ।

त्यसैगरी प्रतिष्ठानका डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, शाखा अधिकृत श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अञ्जु शर्मा, बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, लुम्बिनी हेल्थकेयर प्रालि र सो कम्पनीका अध्यक्ष पोष्टराज ज्ञवालीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

आयोगले सार्वजनिक निकायका पदाधिकारीहरूले मिलेमतोमा आर्थिक अनियमितता गरेको भन्दै कानूनी कारबाहीको माग गर्दै विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update