
ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार पदाधिकारी बैठक बसिरहेको छ। बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्। सभापति शेरबहादुर देउवा भने बैठकमा अनुपस्थित छन्।
पार्टी नेताहरूका अनुसार देउवा २६ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि मात्र सानेपा पुग्ने तयारीमा छन्।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि नेपाली कांग्रेस सत्ताबाट बाहिरिएको थियो। आन्दोलनको क्रममा भदौ २४ गते देउवा निवास बूढानीलकण्ठमा प्रदर्शनकारीहरूले आक्रमण गर्दै आगजनी गरेका थिए। त्यसयता देउवा सार्वजनिक रूपमा देखिएका छैनन्।
सूत्रका अनुसार देउवा हाल काठमाडौंमा घर भाडामा लिएर बस्दै आएका छन् र निकट सहयोगीहरूसँग मात्र भेटघाट गर्ने गरेका छन्। पार्टीभित्रका अन्य नेताहरूसँग भने उनले फोनमार्फत सम्पर्क राख्ने गरेका छन्।
यता, कांग्रेसभित्र संस्थापनइतर समूहले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। सानेपामा जारी बैठकमा हालको राजनीतिक परिस्थिति, केन्द्रीय कार्यसमिति बैठकका तयारी र संगठन सुदृढीकरणका एजेन्डामा छलफल भइरहेको बताइएको छ।