
हालै असोज १८, १९ र २० गतेका दिन आएको बाढी तथा पहिरोका कारण देशभरका सडक संरचनामा ठूलो क्षति पुगेको छ। ती संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। त्यस्तै, गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनःनिर्माणका लागि बाँकी १ अर्ब ७० करोड रुपैयाँ छुट्ट्याइने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङका अनुसार बाढीपहिरोले अवरुद्ध गरेका सडकहरू तत्काल सञ्चालनमा ल्याउन उच्च प्राथमिकताका साथ कार्य भइरहेको छ। उपकरण र जनशक्ति परिचालन गरी निरन्तर काम भइरहेको र मन्त्रालयबाट नियमित अनुगमन भइरहेको उनले बताए।
सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको मन्त्रालयले जनाएको छ। उक्त राजमार्गको पुनर्निर्माणका लागि करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिङ लगायतका अन्य राजमार्ग पुनर्निर्माणमा झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
साथै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणका लागि चार अर्ब ५२ करोड रुपैयाँ आवश्यक पर्ने बताइएको छ भने नयाँ बेलिब्रिज निर्माण र मर्मतका लागि ८० करोड रुपैयाँ, वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।