Banner Nepal
जुम्लामा भालुको आक्रमण तीव्र, असोज महिनामै पाँच जना घाइते

काठमाण्डौ । जुम्लामा असोज महिनाभर भालुको आक्रमण तीव्र बनेको छ । पछिल्ला तीन साताभित्र विभिन्न गाउँपालिकामा भएको आक्रमणमा पाँच जना स्थानीय घाइते भएका छन् ।

जुम्लाको तातोपानी गाउँपालिका–४ का १८ वर्षीय दीपेन्द्र न्यौपाने सोमबार बिहान स्याउको बगैंचामा काम गर्ने क्रममा भालुको आक्रमणमा परी घाइते भएका हुन् । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

त्यसअघि आइतबार बिहान गुठिचौर गाउँपालिका–३ गज्याङकोटकी ३८ वर्षीया बुमची कामी र उनकी १७ वर्षीया छोरी सिर्जना कामी घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी थिए । आमा गम्भीर र छोरी सामान्य घाइते अवस्थामा रहेको प्रहरीका अनुसार दुवैजना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।

गुठिचौर–५ धिता गाउँका झ्यापु धिताल र हिमा गाउँपालिका–५ का ३४ वर्षीय हरिचन्द्र रोकाय पनि भालुको आक्रमणमा परेका छन् । रोकाय बाख्रा चराउन गएका बेला आक्रमणमा परेका हुन् । सबै घाइतेको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

केही समयअघि चन्दननाथ नगरपालिका–३ मा पनि भालुले आक्रमण गरी ११ वटा बाख्रा मारेको घटना भएको थियो ।

स्थानीयवासीहरूले वन क्षेत्रमा जङ्गली जनावरको गतिविधि बढेकाले नियमित गस्ती, नियन्त्रण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले बिहानै जंगल नजिक काम नगर्न र समूहमा मात्र जान आग्रह गर्दै सतर्कता अपनाउन सुझाव दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update