
काठमाण्डौ । हालैको बाढीपहिरोबाट भएको ठूलो मानवीय र भौतिक क्षतिपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक प्रधानमन्त्री कार्यालयमा जारी छ । बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षता रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा हालको विपद् व्यवस्थापन, राहत र पुनःस्थापनासम्बन्धी ९ एजेन्डामाथि छलफल भइरहेको छ ।
बैठकमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अवरुद्ध सडक तथा अत्यावश्यक सेवा सञ्चालन, पीडित परिवारलाई राहत वितरण, मृतक र बेपत्ताका परिवारलाई कानुनअनुसार सहयोग पुर्याउने, महामारीजन्य रोगको जोखिम नियन्त्रण, अस्थायी आवास निर्माण र पुनःस्थापनाका उपायमा छलफल भइरहेको बताइएको छ ।
असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाबाट आएको बाढीपहिरोमा ६० जनाको मृत्यु भएको छ भने सबैभन्दा बढी क्षति इलाममा पुगेको छ । सडक, पुल, जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा करोडौँको नोक्सानी भएको प्रारम्भिक विवरण आएको छ ।
बैठकमा मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, पूर्वमन्त्री तथा विज्ञ सदस्य डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव सहभागी छन् ।