Banner Nepal
राजमार्ग अवरुद्ध भएपछि हवाई यात्रुकाे चाप, भैरहवाबाट उद्धार उडान तयारी

काठमाण्डौ । अविरल वर्षाका कारण देशका प्रमुख राजमार्ग अवरुद्ध हुँदा आन्तरिक हवाई उडानमा यात्रुको चाप असामान्य रूपमा बढेको छ। प्रतिकूल मौसमका कारण शनिबार दिनभर स्थगित भएका उडान पुनः सञ्चालनमा आएपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल यात्रुहरूले भरिएको छ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार विराटनगर बाहेकका सबै आन्तरिक विमानस्थलमा नियमित उडान सुचारु भइसकेका छन्। उनले भने, “दसैं मनाएर उपत्यकाबाट फर्किने र राजधानी भित्रिने यात्रुको भीडका कारण आन्तरिक टर्मिनल अहिले अत्यधिक व्यस्त छ।”

उनका अनुसार आइतबार मात्रै काठमाडौँमा आन्तरिकतर्फ २८० उडान तथा अवतरण भएका छन्। वर्षाका कारण लामो दूरीका सडक मार्ग अझै अवरुद्ध रहेकाले यात्रुहरूले हवाई यातायातलाई वैकल्पिक विकल्पका रूपमा प्रयोग गरिरहेका छन्। विमान कम्पनीहरूले जहाजमा सबै सिट भरिएपछि उडान समय परिवर्तन गर्नसमेत कठिनाइ भइरहेको जनाएका छन्।

यसैबीच, प्राकृतिक विपद्का कारण भैरहवामा अलपत्र परेका यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमले न्यारोबडी ए–३२० विमानमार्फत उद्धार उडान गर्ने तयारी गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, सोमबार दिउँसो उद्धार उडान सञ्चालन हुनेछ।

काठमाडौँबाट दिउँसो १ बजे भैरहवा उड्ने उक्त विमान दिउँसो २:४५ बजे पुनः राजधानी फर्किनेछ। निगमले उक्त उडानका लागि काठमाडौँ–भैरहवा टिकट शुल्क ५ हजार र फर्कँदा ७ हजार रुपियाँ तोकेको छ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update