
काठमाण्डौ । आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई स्याङ्जाबाट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार, गत भदौ २४ गते फरार भएका कैदीहरूलाई पक्राउ गरी आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ। पक्राउ परेकामध्ये वालिङ नगरपालिका–९ का ३५ वर्षीय मदन माझी र बिरुवा गाउँपालिका–६ का १९ वर्षीय एक युवक रहेका छन्, जसको नाम गोप्य राखिएको छ।
‘जबरजस्ती करणी’ मुद्दामा दोषी ठहर भएका माझी काठमाडौंस्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए भने अर्का व्यक्ति पोखराको बाल सुधारगृहबाट फरार भएका थिए।
फरार व्यक्तिहरूलाई पक्राउ गर्न लामो समयदेखि निगरानी राखिएको प्रहरीले जनाएको छ। निरीक्षक तिवारीका अनुसार, प्रहरीको संयोजन, सूचनाको प्रयोग र स्थानीयको सहकार्यका कारण उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।
यसअघि पनि प्रहरीले काठमाडौं केन्द्रीय कारागारका फरार दुई जना, तनहुँ दमौली कारागारका एक जना र कास्की कारागारका तीन जना कैदीलाई पक्राउ गरिसकेको छ।