
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा सरकार र नागरिकको सतर्कताले ठूलो मानवीय क्षति हुन नपाएको बताएका छन्।
आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले इलाममा ३५१ मिलिमिटर वर्षा हुँदा पहिरोमा परेर केही जनाको मृत्यु भएकोबाहेक अन्यत्र मानवीय क्षति नभएको जानकारी दिए। उनले भने, “सरकारको सतर्कताका कारण बाढीका कारण ठूलो क्षति हुन पाएन, अन्यत्र जनजीवन सुरक्षित छ।”
मन्त्री घिसिङले बाढीपहिरोले क्षति पुर्याएका सडक र संरचनाको पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखिएको बताउँदै पश्चिमतर्फका सडक तुरुन्त सञ्चालनमा ल्याइने र पूर्वका सडकमा वर्षा रोकिएपछि यातायात विस्तारै सुचारु गरिने जानकारी दिए।
उनका अनुसार अवरुद्ध बिपी राजमार्ग तीनदेखि चार दिनभित्र सञ्चालनमा ल्याइनेछ। “भकुन्डेबैँसी–नेपालथोक खण्ड र मेची राजमार्गमा अवरोध हटाउने र डाइभर्सन बनाउने काम सुरु भइसकेको छ,” मन्त्री घिसिङले भने, “मुख्य राजमार्ग खुल्नासाथ वैकल्पिक बाटो प्रयोग गर्न नागरिकलाई अनुरोध छ।”
असोज १७ र १८ गतेको अविरल वर्षाले बिपी राजमार्गका १६ स्थानमा डाइभर्सन बगाएको र ३ हजार ४१० मिटर सडक भाग प्रभावित भएको सडक विभागले जनाएको छ।
सो अवसरमा मन्त्री घिसिङले केही ज्योतिषीको गलत सल्लाहका कारण रसुवाको लाङटाङ क्षेत्रमा चार जना ट्रेकर्स बेपत्ता भएकोसमेत बताएका छन्। उनले भने, “हामीले पटक–पटक जोखिमको चेतावनी दिएका थियौँ, तर केहीले ‘यो हुँदैन’ भन्ने भ्रममा ट्रेकिङमा गए—त्यही कारण पनि समस्या भयो।”
उहाँले प्रभावित क्षेत्रका केही स्थानीयले खोलाकिनारबाट हट्न नचाहेकाले जबरजस्ती सुरक्षित स्थानमा सार्नुपरेको जानकारीसमेत दिए। “हामीले राति नै जबरजस्ती उठायौँ, त्यसले धेरै जनजीवन जोगिएको हो,” उनले जोड दिए।
त्यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विज्ञप्ति जारी गर्दै क्षतिग्रस्त सडक पुनः सञ्चालनका लागि उपकरण, जनशक्ति र स्रोत परिचालन गरी काम अगाडि बढाइरहेको जनाएको छ। प्रमुख राजमार्गहरू खुलाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, प्रभावित नागरिकलाई धैर्य र संयमका साथ पुनःस्थापनामा सहयोग गर्न आग्रह गरिएको छ।