Banner Nepal
विपद् प्रतिकार्यमा सरकारको सक्रियता: समयमै सतर्कता र समन्वयले घटायो मानवीय क्षति

काठमाण्डौ । एक वर्षअघि ललितपुरको सुगम बस्तीमा उद्धार ढिलाइका कारण आलोचित भएको सरकार यसपल्ट भने बाढी र पहिरोको जोखिममा पूर्वतयारीसहित सक्रिय देखिएको छ। तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा ‘भिजिबिलिटी’ नहुँदा दुई जनाको उद्धार हुन नसकेर जनआक्रोश बढेको थियो, तर अहिले नागरिक सरकारका रूपमा सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विपद् व्यवस्थापनमा प्रशंसित भएको छ।

यसपालि सरकारले मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार बाढी र पहिरो जोखिम न्यूनीकरणका लागि समयमै निर्णय लिँदै सम्भावित क्षति घटाएको छ। पाटन क्याम्पसका वातावरण विज्ञ डा. अमृत शर्माले पूर्वसूचना र सतर्कता जनउत्तरदायित्वको राम्रो अभ्यास भएको बताउँदै दीर्घकालीन समाधानका लागि सबै निकायबीच समन्वय आवश्यक रहेको बताएका छन्।

गत वर्ष धादिङको झ्याप्ले खोलामा प्रशासनिक लापरबाहीका कारण ३५ जनाको ज्यान गएको घटनापछि यसपल्ट गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सतर्क रहन परिपत्र गरेको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालले ‘भर्चुअल’ बैठकमार्फत आवश्यकताअनुसार सडक बन्द गर्न निर्देशन दिएका थिए।

त्यसअनुसार इलाम, काठमाडौंलगायत उच्च जोखिम क्षेत्रका सडकहरू केही समयका लागि बन्द गरिए। सशस्त्र प्रहरीका पूर्व एआईजी सुबोध अधिकारीका अनुसार, समयमै यातायात रोक्ने निर्णयले ठूलो क्षति हुनबाट बचाएको हो।

गृहमन्त्री अर्यालले विपद् पूर्वतयारीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको विपद् व्यवस्थापन युनिटहरूको स्थलगत निरीक्षणसमेत गरेका थिए। उनका स्वकीय सचिव धीरज जोशीका अनुसार, यसपटक सरकारले हेलिकोप्टरलाई पहिल्यै ‘स्ट्यान्डबाई’मा राख्दै सेनासँग र निजी वायु सेवा सञ्चालकसँग समन्वय गरेको थियो।

नेपाली सेनाले सुर्खेत, काठमाडौं र इटहरीमा उद्धारका लागि हेलिकोप्टर तैनाथ गरेको थियो। यसकै फलस्वरूप इलाममा पहिरोमा परेका दुई घाइतेको शीघ्र उद्धार सम्भव भएको सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्।

गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई पनि पत्र पठाउँदै १८ देखि २० असोजसम्म कोशीदेखि लुम्बिनी प्रदेशसम्मको उच्च जोखिम क्षेत्रका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न आग्रह गरेको थियो।

पूर्व एआईजी अधिकारीका अनुसार, सरकारको यो व्यवस्थापन क्षमता र समयमै गरिएको समन्वय नै यसपटकको विपद् व्यवस्थापनको सबल पक्ष हो। उनले भने, ‘जेन–जी आन्दोलनमा लखेटिएका सुरक्षाकर्मी अहिले उच्च मनोबलसहित नागरिक सेवामा खटिए, जसले सुरक्षाको अर्थलाई नागरिकले प्रत्यक्ष महसुस गरे।’

गृहमन्त्री अर्यालले पनि हालको राजनीतिक संवेदनशीलता बीच सरकारलाई कुनै कमजोरीको ठाउँ नरहेको भन्दै सबै संयन्त्रलाई उच्च सतर्क रहन निर्देशन दिएका छन्। उनले भने, ‘असन्तुष्टि बढेको अवस्थामा सानो त्रुटि पनि राज्यप्रति अविश्वासको कारण बन्न सक्छ, त्यसैले पूर्ण जिम्मेवारीका साथ काम गर्न आवश्यक छ।’

सभामुख देवराज घिमिरेले पनि सरकारको सक्रियता र समन्वयको प्रशंसा गर्दै उद्धार, राहत र पुनःस्थापनामा संलग्न सबै निकायप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update