Banner Nepal
नेपाली सेनाद्वारा इलाम–झापामा १०७ जनाको उद्धार

काठमाण्डौ । विगत दुई दिनदेखि जारी अविरल वर्षाले देशका विभिन्न स्थानमा जनजीवन अस्तव्यस्त बनाइरहेका बेला नेपाली सेनाले इलाम र झापाका प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र पारेको छ।

नेपाली सेनाले दिएको विवरणअनुसार असोज २० गते सोमबार बिहान ८ बजेसम्म इलामको सन्दकपुर गाउँपालिका–४ माबु क्षेत्रमा पहिरोमा परेर घाइते भएका चार जनाको उद्धार गरिएको हो। उद्धार गरिएका घाइतेमध्ये एक जना पुरुष र तीन जना महिला रहेका छन्, जसमा एक बालिकासमेत छन्। उनीहरूलाई स्थानीय स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि सेनाको हेलिकोप्टरमार्फत झापास्थित अस्पतालमा पठाइएको सेनाले जनाएको छ।

त्यस्तै, झापा गाउँपालिका–१ को मिलनबस्ती क्षेत्रमा पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहकार्यमा रातभर उद्धार कार्य सञ्चालन गरिएको थियो। असोज १९ गते राति मात्र मोटरबोटमार्फत ४८ जना, डुङ्गाबाट ३१ जना र पैदलमार्गबाट १२ जना गरी कुल ९१ जनाको उद्धार गरिएको हो।

हालसम्म हेलिकोप्टर र स्थलमार्ग दुवै माध्यमबाट गरी १०७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जानकारी दिएको छ।

सुरक्षा निकायहरूले अझै पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र राहत सामग्री वितरणका कार्यलाई निरन्तरता दिइरहेका छन्।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update