Banner Nepal
पहिरोले मेची राजमार्ग पूर्ण अवरुद्ध, वैकल्पिक मार्ग पनि बग्दा पूर्वी पहाड आइसोलेसनमा

काठमाण्डौ । इलामको राजदुवाली माथिको सडकमा गएको ठूलो पहिरोका कारण इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने प्रमुख मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । निरन्तरको वर्षाले सडकका धेरै खण्डमा पहिरो गएपछि पूर्वी पहाडसँगको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको हो ।

डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार झापादेखि फिक्कलसम्म ठूला समस्या नभए पनि गोदक–माइखोला सडक खण्डमा धेरै स्थानमा पहिरो गएको छ । इलाम चुरेघाँटी र पुर्वाखोलातर्फ पनि सडक बगेको उनले बताए । पाँचथर सिमाना राँकेसम्म भने तुलनात्मक रूपमा कम क्षति भएको जनाइएको छ ।

भट्टराईका अनुसार माइखोला माथिको सडक खुलाउन कम्तीमा तीन–चार दिन लाग्न सक्छ । “इटहरीबाट ठूलो मेशिन ल्याइएको छ, त्यसले सडक सफा गर्ने प्रयास भइरहेको छ,” उनले बताए ।

यसैबीच, इलाम–झापा जोड्ने छोटो दूरीको केचना–कञ्चनजंघा सडकमा पर्ने पुवाखोलाको नयाँ निर्माण भएको बेली ब्रिज बाढीले बगाएको छ । माइखोलास्थित बेलासे पुल पनि क्षतिग्रस्त भएको छ ।

त्यस्तै वैकल्पिक सिमल–गोलाई–तिल्केनी सडकबीचको जोगमाई खोलामा बनाइएको बेली ब्रिजसमेत बाढीले बगाएपछि सबै वैकल्पिक मार्ग अवरुद्ध भएका छन् । फलस्वरूप झापाबाट इलाम, पाँचथर र ताप्लेजुङसम्मको सम्पूर्ण यातायात ठप्प भएको छ ।

वैकल्पिक मार्गहरू पनि बन्द भएपछि पूर्वी पहाडका बासिन्दा ठूलो संकटमा परेका छन् । दैनिक उपभोग्य वस्तु ढुवानीदेखि बिरामीलाई अस्पताल पुर्‍याउने कार्यमा समेत कठिनाइ भएको छ । ट्राफिक प्रहरीका अनुसार यस राजमार्गमा दैनिक करिब तीन सय सवारीसाधन सञ्चालन हुने गर्थे ।

वर्षौंदेखि जोखिमपूर्ण मानिँदै आएको राजदुवाली–भञ्ज्याङ सडक खण्डमा जमिनभित्रको पानीको बहावका कारण मर्मत कार्य जटिल बन्दै आएको छ । अध्ययन टोलीहरूले यस क्षेत्रमा वैकल्पिक मार्ग निर्माणको आवश्यकता पटक–पटक औंल्याउँदै आएका छन् ।

त्यस्तै, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिका बीच पर्ने देउमाई खोलाको पक्की पुलको आधा भाग बाढीले बगाएको छ । सोही क्षेत्रमा रहेको गजुरमुखी धाम छेउका छ घर पनि बाढीले बगाएको डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update