Banner Nepal
चार दिनभित्र बिपी राजमार्ग सञ्चालनमा ल्याइने : सडक विभाग

काठमाण्डौ । सडक विभागका महानिर्देशक डा. विजय जैशीले बाढी–पहिरोका कारण अवरुद्ध बिपी राजमार्गलाई चार दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन् ।

शुक्रबारदेखि लगातारको वर्षाले राजमार्गका डाइभर्सन बगाएपछि सडकका विभिन्न भागमा थप कटान भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक जैशीले पानीको बहाव घट्नेबित्तिकै मर्मत कार्य सुरू गर्ने जानकारी दिए ।

‘अहिले नदीमा बहाव धेरै भएकाले तत्काल काम गर्न सकिएको छैन, तर मौसम स्थिर भएपछि चार दिनभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौं,’ जैशीले भने ।

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार चौकी डाँडामा मर्मत कार्य सुरु भइसकेको छ । उनले हाल बिपी राजमार्गको विकल्पका रूपमा कान्ति राजमार्ग प्रयोग गर्न सकिने बताए । तर, कान्ति राजमार्गका केही स्थानमा पनि समस्या रहेकाले सुधार कार्य जारी रहेको जानकारी दिए ।

त्यस्तै, भकुन्डेबेशीबाट तिमाल हुँदै साना सवारी साधन सञ्चालन गर्न सकिने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update