Banner Nepal
अविरल वर्षाबाट ४३ जनाको मृत्यु, इलाममै ३७ जनाको ज्यान गयाे

काठमाण्डौ । असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण देशभर ४३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबारसम्मको विवरण सार्वजनिक गर्दै अधिकांश मृत्यु इलाममा भएको जनाएको हो ।

प्राधिकरणका अनुसार इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ भने रौतहटमा ३, पाँचथर, खोटाङ र उदयपुरमा जनही १ जनाको मृत्यु भएको छ ।

यसैबीच, देशभर पाँच जना बेपत्ता भएका छन् । स्याङ्जामा खोलाले बगाएर चार जना हराइरहेका छन् भने इलाममा एक जना पहिरोमा पुरिएको प्राधिकरणको भनाइ छ ।

घाइतेको संख्या १२ पुगेको छ, जसमा इलाममा ४, भोजपुरमा ३, खोटाङमा ३, पाँचथरमा १ र मकवानपुरमा १ जना रहेका छन् ।

अत्यधिक वर्षाका कारण इलामको माङसेबुङमा अलपत्र परेका दुई जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । यसैबीच, सरकारकाे निर्देशनअनुसार असोज १८ देखि २० गतेसम्म लामो दूरीका सवारी साधन रोकिएका छन् । स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र उद्धार–राहतका लागि सुरक्षा निकायहरूलाई सक्रिय बनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update