
काठमाण्डौ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सरकार र सरोकारवालाको सतर्कताका कारण देशभर मानवीय क्षति न्यून भएको बताएका छन् ।
आइतबार पत्रकार सम्मेलनमा मन्त्री घिसिङले लगातारको वर्षापछि आएको बाढी र पहिरोका घटनाबाट ठूलो जनधनको क्षति हुन नपाएको उल्लेख गर्दै इलाम बाहेक अन्य क्षेत्रमा जनहानि नभएको जानकारी दिए ।
उनका अनुसार इलाममा ३५१ मिलिमिटर वर्षा भएपछि आएको अतिवृष्टिले पहिरोका कारण केही जनधनको क्षति भएको भए पनि अन्य स्थानमा ठूलो प्रभाव परेन ।
मन्त्री घिसिङले बाढी–पहिरोले सडक तथा संरचनामा क्षति पुर्याए पनि सरकारले पुनर्निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाइरहेको बताए । उनले पश्चिमका अवरुद्ध सडक खुलाउने काम तीव्र गतिमा भइरहेको र पूर्वका क्षेत्रहरूमा पनि वर्षा घट्दै गएको जानकारी दिए ।