Banner Nepal
भारी वर्षाका कारण उपत्यका भित्रिने/बाहिरिने लामो दूरीका सवारी तीन दिनका लागि बन्द

काठमाण्डौ । लगातार परेको भारी वर्षाले उपत्यकामा प्रवेश गर्ने तथा बाहिरिने लामो दूरीका सवारी साधन तीन दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८, १९ र २० गतेसम्म यातायात आवागमन रोक्ने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षा आगामी २० गतेसम्म जारी रहने अनुमान भएकाले यस्तो कदम चालिएको हो। वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको जोखिम उच्च बनेकाले विशेष सतर्कता अपनाउन आवश्यक भएको जनाइएको छ।

सूचनामा भनिएको छ, “सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन र काठमाडौं उपत्यकामा भित्रिने तथा बाहिरिने सवारी साधन असोज १८ देखि २० गतेसम्मका लागि बन्द गरिएको जानकारी गराइन्छ।”

यस निर्णयसँगै दशैं मनाएर घर फर्किन वा फर्किसकेर उपत्यका प्रवेश गर्न चाहने यात्रुहरू अलपत्र पर्न सक्ने अनुमान गरिएको छ। प्राधिकरणले यात्रुहरूलाई आवश्यक वैकल्पिक तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update