
काठमाण्डौ । शुक्रबार साँझदेखि लगातार परेको अविरल वर्षाले काभ्रेपलान्चोक जिल्लाको जनजीवन प्रभावित बनेको छ। वर्षासँगै स्थानीय खोला–खोल्सामा पानीको बहाव तीव्र बनेपछि बाढी र पहिरोको जोखिम बढेको हो।
विशेषगरी बीपी राजमार्ग भएर बग्ने रोसी खोलामा पानीको सतह बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोकले सवारी साधनलाई रोक्ने निर्णय गरेको छ। प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार राजधानीलाई पूर्वी पहाडी तथा तराईका जिल्लासँग जोड्ने उक्त राजमार्गमा जोखिम न्यूनीकरणका लागि धुलिखेल, काभ्रेभन्ज्याङ, भकुन्डे र मङगलटारमा सवारी रोकिएको छ।
यस्तै, अविरल वर्षाका कारण अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डमा माथिबाट ढुङ्गा खस्न थालेपछि धुलिखेल र पाँचखालमा समेत सवारी साधन रोकिनु परेको ट्राफिक प्रहरीले जनाएको छ।
दसैं मनाएर गाउँबाट सहर फर्किने तथा टीका लगाउन आफन्तकहाँ जाँदै गरेका सर्वसाधारण अचानक रोकिएका कारण बाटोमै अलपत्र परेका छन्। वर्षा अझै जारी रहेकाले राजमार्ग सञ्चालनमा अनिश्चितता कायम रहेको जनाइएको छ।