Banner Nepal
मनसुन सक्रिय : ट्राफिक प्रहरीद्वारा माइकिङमार्फत चालकलाई सतर्क रहन आग्रह

काठमाण्डौ । देशभर मनसुन सक्रिएसँगै सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमानसहित काठमाडौँ उपत्यकाका प्रमुख नाकामा ट्राफिक प्रहरीले माइकिङ गर्दै सतर्कता अपनाउन सचेतना फैलाउन थालेको हो।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार वर्षात्को समयमा सडक चिप्लिने, दृश्यता घट्ने, बाढी–पहिरोको जोखिम बढ्ने भएकाले लामो दूरीका चालकलाई राति वा मुसलधारे पानीमा एक्लै यात्रा नगरी समूहमा यात्रा गर्न र सवारी साधनको नियमित प्राविधिक परीक्षण (ब्रेक, टायर, लाइट आदि) गराउन आग्रह गरिएको छ।

विशेषगरी नागढुङ्गा, साँगा, थानकोट, बालाजु, सातदोबाटोलगायतका प्रमुख नाकामा गएरातिदेखि नै माइकिङ र मौखिक सूचना प्रदान थालिएको छ। अधिकारीले पृथ्वी, सिद्धार्थ, विपी र अरनिको राजमार्ग जस्ता पहाडी तथा पहिरो जोखिमयुक्त मार्गमा अझ सतर्कता आवश्यक रहेको बताएका छन्।

विगतका अनुभवलाई आधार मानेर ट्राफिक प्रहरीले यस वर्ष सुरुवातदेखि नै उच्च सतर्कता अपनाएको जनाएको छ। प्रमुख सडक र राजमार्गमा गस्ती बढाइएको छ भने आकस्मिक अवस्थाका लागि ट्राफिक टोलीलाई तयारी अवस्थामा राखिएको छ।

यस्तै, सामाजिक सञ्जाल र विभागीय वेबसाइटमार्फत मौसम अपडेट, सडक अवस्था र आकस्मिक बन्दबारे जानकारी सार्वजनिक गर्दै यात्री र चालकलाई समयमै सूचना पुर्‍याउने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रवक्ता एसपी नरेशराज सुवेदीले “सावधानी अपनाऔँ, दुर्घटनाबाट बचौँ” भन्ने नारालाई व्यवहारमा उतार्दै सडक सुरक्षामा सबैको सहकार्य आवश्यक रहेको बताए।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update