Banner Nepal
अविरल वर्षाले त्रिभुवन विमानस्थलका आन्तरिक उडान स्थगित

काठमाण्डौ । बिहानदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान स्थगित भएका छन्। विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार लगातारको खराब मौसमका कारण काठमाडौँसहित भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको हो।

पाण्डेले मौसमको अवस्था पुनः मूल्याङ्कन भइरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय उडान भने नियमित रूपमा सञ्चालन भइरहेका बताए। उनका अनुसार अविरल वर्षाको बीचमा आन्तरिकतर्फको उडान सञ्चालन गर्नु जोखिमपूर्ण हुने भएकाले तत्कालका लागि रोकिनु परेको हो।

जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी दिँदै राति अझ बढी वर्षा हुने अनुमान गरेको छ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update