
काठमाण्डौ । प्यूठानमा एक युवकको हत्या आरोपमा सहोदर दाजुभाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौमुखी गाउँपालिका–६ लिवाङका २३ वर्षीय सन्तोष सुनार र २८ वर्षीय गोपाल सुनार रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीका अनुसार असोज १५ गते बिहान लिवाङस्थित स्कुल धारादेखि मच्छी जाने कच्ची सडक खण्डमा २४ वर्षीय प्रकाश सुनार मृत फेला परेका थिए । अनुसन्धानपछि सो हत्यामा संलग्न भएको आरोपमा दाजुभाइलाई दशैं अघिल्लो दिनै पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार असोज १४ गते राति मृतक प्रकाश र सन्तोषले सँगै मदिरा सेवन गर्ने क्रममा आपसी विवाद भएको थियो । त्यस क्रममा झगडा चर्किएपछि सन्तोषले दाजु गोपाललाई बोलाएका थिए । दुवै दाजुभाइले प्रकाशलाई कुटपिट गरेको अनुसन्धानबाट देखिएको डिएसपी अधिकारीले बताए ।
तर, कुटपिटपछि दाजुभाइले प्रकाशलाई ढिस्कोबाट लडाइदिएका हुन् वा उनी आफैं भाग्ने क्रममा ढल्किएको ढिस्कोबाट खसेका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशको शव ढिस्कोभन्दा करिब सय फिट तल कच्ची सडकमा घोप्टो अवस्थामा फेला परेको थियो । मृतक र घटनामा संलग्न भनिएका दाजुभाइबीच आपसी नातागोता पनि रहेको प्रहरीको भनाइ छ ।