Banner Nepal
चितवन–धादिङ–तनहुँ प्रशासनको अपिल: असोज २० सम्म रातिको यात्रा नगर्न आग्रह

काठमाण्डौ । चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन तथा प्रहरी कार्यालयहरूले पृथ्वी राजमार्ग क्षेत्रमा निरन्तर पहिरो र भारी वर्षाको सम्भावना बढ्दै गएपछि रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

संयुक्त विज्ञप्तिमा प्रशासनहरूले कोत्रे–मुग्लिन–नागढु‌ङ्गा र नारायणगढ–मुग्लिन सडक खण्डमा निरन्तर पहिरो जाँदा सवारी आवागमन रोकिँदै आएको र जोखिम झन् बढ्न सक्ने जनाएका छन् । तीनै जिल्लाको समन्वयमा समय–समयमा पहिरो हटाएर सडक खुलाइए पनि स्थायीत्व नभएकाले यात्रामा विशेष सावधानी अपनाउन भनिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमान छ । उक्त अवधिभर अत्यावश्यकबाहेक यात्रामैत्री गतिविधि नगर्न र यात्रा गर्नैपरेमा दिनको समयमा गन्तव्यमा पुग्ने गरी योजना बनाउन प्रशासनले अनुरोध गरेको छ ।

यात्रा गर्नैपर्ने अवस्थामा सुरक्षा निकायबाट ताजा जानकारी लिन र सम्भावित जोखिमलाई ध्यानमा राखी सचेत रहन पनि अपिल गरिएको छ । पूर्वानुमान बमोजिम वर्षा भएमा स्थानीय प्रशासनले राजमार्ग आवागमन नै रोक्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update