Banner Nepal
महोत्तरी बस दुर्घटना: चार गम्भीर घाइते हेलिकोप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाण्डौ । महोत्तरीको खयरमारामा शुक्रबार बिहान भएको बस दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइँदैछ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माका अनुसार घाइतेमध्ये बर्दिबास–१० की ४४ वर्षीया निर्मला तमाङ, ४२ वर्षीय दिर्जमान गोले, १६ वर्षीया अस्मिता गोलेसहित चार जनाको अवस्था चिन्ताजनक रहेको छ ।

घाइतेहरूलाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । तर, अवस्था गम्भीर भएकाले थप उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । हेलिकोप्टरमा चढाउनुअघि सशस्त्र प्रहरीको एम्बुलेन्समार्फत अस्पतालबाट बाहिर निकालिएको थियो ।

ना६ख १४६४ नम्बरको बस घारीबथानबाट खयरमारा हुँदै काठमाडौं जाँदै गर्दा दुर्घटना भएको हो । खयरमारा स्कुलअगाडि भएको ठक्करमा पैदलयात्री चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते १२ वर्षीय प्रवीण खड्काको उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनापछि बस चालक भने फरार रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update