
काठमाण्डौ । भदौ २३ र २४ गतेको आन्दोलनपछि सामाजिक सञ्जालमा अक्टोबर ९ (असोज २३) मा जेन–जी युवाहरूले फेरि विरोध कार्यक्रम आयोजना गर्ने भनिएको हल्ला फैलिएको छ । तर, जेन–जी आन्दोलनका अगुवाहरूले सो दिन कुनै कार्यक्रम नगर्ने स्पष्ट पार्दै हल्लालाई निराधार भनेका छन् ।
भदौ २४ गते राति सैनिक मुख्यालयमा वार्ता गर्ने टोलीमा रहेका युजन राजभण्डारी र तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत असोज २३ काे कार्यक्रममा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै “हिंसात्मक गतिविधिलाई समर्थन नगर्ने” दोहोर्याएका छन् ।
त्यसैगरी, अर्की अगुवा रक्षा बमले फेसबुकमार्फत “अक्टोबर ९ मा आन्दोलन हुने भनिएको अफवाहमा आफू र आफ्ना साथीहरूको कुनै संलग्नता छैन” भन्दै भ्रम फैलाउन खोज्नेहरूलाई सचेत रहन आह्वान गरेकी छन् । उनले जेन–जी आन्दोलनलाई बदनाम गर्ने, राज्यको शान्ति प्रक्रियामा अवरोध ल्याउने प्रयासहरू गम्भीर र निन्दनीय रहेको टिप्पणी गर्दै शान्तिपूर्ण परिवर्तनमा आफ्नो विश्वास दोहोर्याइन् ।
अर्की नेतृ भावना राउतले पनि आफू असोज २३ को कार्यक्रममा संलग्न नभएको स्पष्ट पार्दै “जेन–जी सधैं न्याय, पारदर्शिता र लोकतान्त्रिक मूल्यहरूको पक्षमा उभिन्छ” भन्दै हिंसात्मक गतिविधिलाई अस्वीकार गर्ने उल्लेख गरेकी छन् ।
त्यस्तै, माइतीघरमा भदौ २३ को प्रदर्शनको अनुमति लिएका पुरूषोत्तम यादव समूहले पनि अक्टोबर ९ मा कुनै कार्यक्रम नगर्ने विज्ञप्ति जारी गर्दै “हाम्रो आन्दोलन कुनै दल वा स्वार्थका लागि नभई जनताको आवाजका लागि मात्र हो” बताएका छन् ।
यसरी, जेन–जी अभियानका अगुवाहरूले असोज २३ मा हुने भनिएको विरोध कार्यक्रम निराधार भएको प्रस्ट पार्दै नागरिकलाई अफवाहमा नपर्न आग्रह गरेका छन् ।