
काठमाण्डौ । आज दुर्गापक्षको मुख्य दिन विजयादशमी देशभर हर्षोल्लासका साथ मनाइँदैछ। मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरुप रातो टीका र पहेँलो जमरा ग्रहण गर्दै आशीर्वाद लिने परम्परा रहिआएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका ग्रहण गर्ने शुभसाइत बिहान ११ः५३ बजे तोकेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार विजयादशमी आफैंमा शुभ भएकाले साइत नहेरी पनि टीका लगाउन सकिन्छ। तर राज्य सञ्चालक वा औपचारिक रुपमा साइतमै टीका लगाउनुपर्ने शास्त्रीय आधार रहेको उहाँले स्पष्ट पार्नुभयो।
समितिले दिएको विवरणअनुसार देवी विसर्जनको साइत आज बिहान ९ः२३ बजे तय गरिएको छ। घटस्थापनाका दिन राखिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने चलन छ।
समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज चन्द्रमा मकर राशिमा रहेकाले टीका माग्ने व्यक्ति पूर्व फर्कनुपर्ने र दिने व्यक्ति पश्चिम फर्कनुपर्ने परम्परा छ। चन्द्रमालाई दाहिने पार्दा शुभ हुने विश्वास छ।
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गर्न सक्नेछन्। जमरालाई समृद्धिको प्रतीक मानिने मात्र होइन, विभिन्न रोगमा औषधीय महत्व रहेको वैज्ञानिक पुष्टि समेत छ।
धार्मिक विश्वासअनुसार आजकै दिन त्रेता युगमा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेकाले विजयादशमीलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइन्छ।
यस दिन गुरु, पुरोहित, बा–आमा, हजुरबा–हजुरआमा तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गर्दै यश, ऐश्वर्य, दीर्घायु र शक्ति प्राप्त होस् भनी आशीर्वाद लिने चलन छ। पुरुषलाई विशेष मन्त्रद्वारा आशीर्वाद दिइन्छ भने महिलालाई दुर्गा स्वरुप मानी मन्त्र उच्चारण गरी आशीर्वाद दिने परम्परा रहिआएको छ।
आजदेखि कोजाग्रत पूर्णिमासम्म टीका–जमरा थाप्न आफन्तकहाँ पुग्ने र बाटामा भेटघाट गर्ने भीड लाग्ने गर्छ।