Banner Nepal
दसैँ नजिकिँदै काठमाडौँ सुनसान, गाउँघर जीवन्त

काठमाण्डौ । दसैँको आगमनसँगै उपत्यका सुनसान बन्दै गएको छ । राजधानीका सडकहरू विगतको तुलनामा निकै खाली देखिन थालेका छन् भने दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकामा वर्षभर रोजगारी, अध्ययन, व्यापारलगायत कारण बसोबास गर्नेहरू चाडपर्वको अवसरमा आआफ्नो गाउँ फर्किएपछि सार्वजनिक यातायातमा देखिने यात्रुको भीड समेत घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार, दसैँमा प्रायः मानिस गाउँ जाने भएकाले सडक सुनसान भए पनि सुरक्षात्मक सतर्कता भने निरन्तर उच्च राखिएको छ ।

यसबीच, घटस्थापनादेखि असोज १३ गतेसम्म आठ दिनमा मात्र ५ लाख ५३ हजार २६१ जनाले उपत्यका छाडेको तथ्यांक उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

गाउँघरमा भने वातावरण दसैँमय बनेको छ । टिका–जमरा छर्ने तयारी, गाउँको माटोको सुवास, परिवारसँग पुनर्मिलनको उत्साह र परम्परागत संस्कारले बस्तीहरू उल्लासमय भएका छन् । परदेशी घर फर्किएसँगै समाजमा मेलमिलाप र आपसी एकता बलियो हुने विश्वास रहिआएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update